728x90 AdSpace


  • ताजा समाचार

    Wednesday, January 25, 2017

    बागलुङका दुई कृषि सहकारीबीच एकीकरण

    रबिना बोहरा
    बागलुङ, १२ माघ
    कृषि क्षेत्रमा काम गर्दै आएका बागलुङका दुई वटा सहकारीहरुबीच बुधवार एकीकरण भएको छ । बागलुङ नगरपालिका कार्यक्षेत्र भएको सिम्रिक कृषि तथा पशु व्यवसायिक सहकारी संस्था लिमिटेड र भीमापोखरा सहित ५ वटा गाविस कार्यक्षेत्र भएको लोक हित कृषि तथा बाख्रा उत्पादक सहकारी संस्था लिमिटेडबीच एकिकरण भएको हो । कृषि क्षेत्रको विकास र विस्तारमा थप प्रभावकारी ढंगले कार्य गर्ने उद्देश्यका साथ २ वटा सहकारीबीच एकीकरण गरिएको सो अवसरमा जानकारी दिइयो ।

    व्यवसायिक उखु खेती, माहुरीपालन, केरा खेती, अदुवा खेती, बिउबिजन बिक्रि वितरण, रासायनिक मल तथा नुनको बिक्रि जस्ता कार्य गर्दै आएको सिम्रिकसंग भीमापोखरा गाविसमा कृषि सम्बन्धी कार्य गर्दै आएको लोकहितको एकीकरणपछि कृषि सम्बन्धी थप कार्यक्रम सञ्चालन गरिने अध्यक्ष मणिभद्र शर्माले बताउनुभयो ।
    कृषकलाई टनेट वितरण गर्ने, पचास प्रतिशत अनुदानमा मिनि टेलर हलो वितरण गर्ने, फलफुलका विरुवाहरु, सर्वसुलभ ब्याजदरमा शेयर सदस्यलाई कृषिऋण प्रदान गर्ने लगायतका काम गर्दै आएको सहकारीले जनाएको छ । आगामी दिनमा जिल्लामा आयात हुने उखुलाई विस्थापित गरी निर्यात गर्ने वातावरण सिर्जना गर्ने लक्ष्यका साथ संस्था एकीकरण गरिएको शर्माको भनाइ छ ।

    कृषि पेशलाई थप मर्यादित बनाउनका लागि गरिएको सहकारी एकीकरण पछि संस्थाका शेयर सदस्य ६ सय २१ जना र शेयर पुँजी ५६ लाख ५९ हजार ७ सय रुपैँया रहेको बताइएको छ ।
    कार्यक्रममा डिभिजन सहकारी कार्यालय बागलुङका प्रमुख बिष्णुप्रसाद शर्माले सहकारी व्यवसायिक र उत्पादनमुखी हुनुपर्ने बताउनुभयो । जिल्लामा ४ सय ६५ वटा विभिन्न विधाका सहकारी रहेको उल्लेख गर्दै उद्देश्य र कार्यक्षेत्र अनुसार अगाडी बढ्न पनि आग्रह गर्नुभएको छ ।

    राष्ट्रिय सहकारी बैँकका सञ्चालक रामबहादुर जिसीले सहकारी मार्फत उत्पादन, बजारीकरण र प्रशोधनलाई व्यवस्थित गराउन कृषि सहकारीहरुको भूमिका प्रभावकारी हुनु पर्नेमा जोड दिनुभयो ।
    सदस्य विस्तार, पूँजि निर्माण, नीतिगत सञ्चालन जस्ता विषयमा ध्यान दिएर कृषकलाई उत्पादनमा अग्रसर गराउने र उनीहरुको उत्पादन विक्री वितरणको व्यवस्था सहकारीले गर्नु पर्ने उहाँको भनाइ थियो ।

    कार्यक्रममा जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष दिपक गौतम, संस्थाका सल्लाहकार दुर्गाबहादुर कुँवर, डिलबहादुर कार्की, नेपाल पत्रकार महासंघ बागलुङका सचिव दिल श्रीष लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष मणिभद्र शर्माको अध्यक्षता, धनबहादुर कार्कीको स्वागत र चुडामणि शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।
    • Facebook Comments
    Item Reviewed: बागलुङका दुई कृषि सहकारीबीच एकीकरण Rating: 5 Reviewed By: Unknown
    Scroll to Top