728x90 AdSpace


  • ताजा समाचार

    Monday, May 8, 2017

    गल्कोट नगरपालिकाको समृद्धिका लागी

    भरत शर्मा गैरे
    देशमा लोकतन्त्र स्थापना गरी नेपाली जनतालाई सम्प्रभु बनाउन ज्यानको बलिदान गर्ने महान् सहिद थिरबम मल्ल र कृष्णबहादुर थापालगायत अन्य थुप्रै सहिदको गौरवशाली इतिहास भएको बाग्लुंग जिल्लाको गल्कोट क्षेत्र राजनीतिकरूपमा निकै सचेत मानिन्छ । साथै, गल्कोट कृषी, पर्यटन, जलस्रोत र स्थानीय सीपको प्रचुर सम्भावना भएको क्षेत्र पनि हो । कुनै समय बाग्लुंग जिल्लाको सदरमुकाम रहिसकेको यो क्षेत्र विगतमा विभिन्न कारणले प्रशासनिक दृष्टिाट ओझेलमा पर्न गयो ।
    गल्कोटमा रहेको सदरमुकाम रातारात बाग्लुंग बजारमा सारियो । तर, मेहनती गल्कोटबासी र त्यहाँको प्राकृतिक छटाको कारण यो क्षेत्र सदैव आर्थिक रूपमा चलायमान नै रहिरहयो । प्राकृतिक स्रोतको प्रचुरता हुँदाहुँदै पनि त्यसको समुचित प्रयोग गरेर रोजगारी सृजना नगरिँदा यँहाका युवा र बेलायती सेनाका साथै खाडीका देशहरूफ जापान र युरोपका मुलुकमा समेत रोजगारीका लागि पुगेका छन् । तैपनि, गल्कोटे युवामा गल्कोटको प्रेम कत्ति पनि कम भएको छैन ।
    जहाँ भए पनि कुनै न कुनैरूपमा गल्कोटसँग जोडिई नै रहे र यहाँको विकासमा योगदान गरी नै रहे । भौगोलिकरूपमा कचौरा आकारको र हरेक किसिमले एक आपसमा जेलिएर रहेका गल्कोट क्षेत्रका १० गाविसलाई प्रजातन्त्रको पुनर्स्थापनापश्चात् एउटै संसदीय निर्वाचन क्षेत्रमा राख्नुपर्नेमा ३ ओटा चुनाव क्षेत्रमा विभाजन गरेर गल्कोटबासीको भावनामा चोट पुग्ने काम गरियो ।
    त्यो समग्र गल्कोटको हितमा नभएर कसैको राजनीतिक जोडघटाउ मिलाउने र चुनाव जित्ने जिताउने दाउमात्र थियो । तैपनि, जसरी टुक्य्राउन खोजिए पनि गल्कोटेको भावनामा फाटो भने कहिल्यै आएन र जुनसुकै चुनाब क्षेत्रमा परे पनि समग्र गल्कोटको विकासका लागी गल्कोटबासीले यो वा त्यो क्षेत्र भनेनन् । माओवादी द्वन्द्वकालमा गल्कोटमा सञ्चालित केही शैक्षिक संस्था विस्थापन हुँदा छोराछोरीको उज्ज्वल भविष्यका लागि गल्कोटबासीको ठूलै संख्या सहरमा बसाइँ सर्न पुग्यो ।
    तैपनि गल्कोटबासीले गल्कोटप्रतिको मोह त्यागेनन् र कुनै न कुनैरूपले जन्मभूमिसँग जोडिइनै रहे । त्यसैको प्रतिफलले गल्कोट अहिले पनि जीवन्त छ । गल्कोटबाट शैक्षिक संस्थाहरू विस्थापन गरिँदा यहाँको विकासमा कति असर पर्‍यो र गल्कोट कति पछि धकेलियो भन्ने लेखाजोखा गल्कोटबासीले गरेकै छन् र सम्बन्धित व्यक्ति वा दलले कुनै न कुनै बेला त्यसको जबाफ दिनुपर्ने नै छ ।
    आफ्ना परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेर राजनीतिक स्वार्थ पूर्तिका लागि निमुखा गल्कोटे बालबालिकाको भविष्यमाथि गरिएको खेलबाडको मूल्यांकन इतिहासले गर्ने नै छ । गल्कोटबासीले त त्यसको मूल्यांकन गरिसकेका छन् र आगामी चुनावमा पनि गर्ने नै छन् ।
    ढिलै भए पनि गल्कोट फेरि एकपटक एकढिक्का हुनपुगेको छ ।
    कसैको स्वार्थमा टुक्य्राइएका हामी पुन: एक हुन सफल भएका छौँ र हाम्रो गल्कोट नगरपालिकाको स्थापना भएको छ । दुधिलाभाटी, नरेठाटी, हटिया,हरिचौर, पाण्डवखानी, मल्म, काँडेबास, रिघा, अमरभूमि, अर्गल, हिल, ताराखोला बासीको मन न पहिले विभाजित थियो न अहिले नै छ । पहिले हामीलाई राजनीतिक स्वार्थमा प्रशासनिक विभाजनमा पारियो तर अहिले आएर दुधिलाभाटी, नरेठाँटी, हटिया, हरिचौर, पाण्डवखानी, मल्म, काँडेबास र रिघा प्रशासनिकरूपले पनि पुनः जोडिन पुगेका छन् भने अमरभूमि, अर्गल, हिल, ताराखोला पनि भावनात्मकरूपले हामीसँगै छन् । प्रशासनिकरूपमा हामी अलगअलग एकाइ हुन परे पनि भौगोलिकरूपले यस क्षेत्रको विकासमा हामी सबैको संलग्नता जेलिएको छ ।
    अबको हाम्रो जिम्मेवारी सुषुप्तरूपमा रहेको गल्कोट क्षेत्रको प्राकृतिक, भौगोलिक, सांस्कृतिक, भाषिकआदि सम्पदाको उत्खनन् र प्रयोगमार्फत् समृद्ध गल्कोट क्षेत्र निर्माण गर्नु नै हो । हरिचौरको र पाण्डवखानी र मल्मको शिरमा रहेको घुम्टे र त्यहाँ रहेका सिद्धबाबा, गाईघाटमा रहेको पाताले छाँगो, गल्कोट दरबार, काडेबासको शिरमा रहेको ज्यामिरेडाँडा र मालारानी, रिघामा रहेका विभिन्न पर्यटकीय स्थल, हटियाको शिरमा रहेको गल्कोट, दुधिलाभाटीको शिरमा रहेको गाजाको धुरी, नरेठाँटीको शिरमा रहेको डहरे र घोडाबाधेलगायतका पर्यटकीय क्षेत्रको विकास, गलकोटमा लाग्ने चैते दसैँ मेला, बुद्ध जयन्तीमा घुम्टेमा लाग्ने मेला, अर्गलको भुस पोल्ने मेला, गल्कोटका विभिन्न स्थानमा प्रसिद्ध मगर संस्कृति, नेवार संस्कृति, हटियाको शिरमा रहेको गल्कोट र त्यसैको छेवैमा रहेको तर आजकाल लोपोन्मुख रहेको गन्धर्भ संस्कृति आदिको यथोचित खोजी र प्रवर्धन गरी गल्कोटको पहिचान झल्काउने र स्थानीयबासीको रोजगारी र आय आर्जनको माध्यम सृजना गर्ने जिम्मा अब स्थानीय स्तरमै आएको छ ।  
    गौँदी र दरमखोलाको जलस्रोतको उचित प्रयोगमार्फत कृषिको आधुनिकीकरण गरी उत्पादकत्व बढाउने, लघु जलविद्युत्को प्रवर्धन गरी ऊर्जाको स्थानीय मागको पूर्ति गर्ने जस्ता कार्य अब स्थानीय नेतृत्त्वबाटै गर्नुपर् छ। त्यसैगरी बाग्लुंग जिल्ला र विशेषगरी गल्कोट क्षेत्रमा रहेको स्थानीय सीपको प्रवर्धन गरी डोको, डालो, निगालाका कलात्मक सामग्री, परम्परागत ठेकी, चौठी, नालीजस्ता वस्तुको  ‘गल्कोट ब्रान्ड’ का उत्पादन  प्रवर्धन गरी एकातिर रोजगारी सृजना गर्नु छ भने अर्कोतर्फ गल्कोटको पहिचान खुलाउनु छ ।
    अर्को र तत्काल नगरी नहुने काम भनेको गल्कोट क्षेत्रमा सडक संजालको विस्तार हो । मध्यपहाडी लोकमार्गले गल्कोटलाई चिरेर गए पनि शाखा  सडकहरूको निर्माण गरी सबै गल्कोटबासीलाई सडकको पहुँचसँग जोड्नु अत्यावश्यक छ । एकातिर झोलुंगे पुलको जिल्ला भनेर चिनिने बाग्लुंगको पहिचानलाई ती झोलुंगे पुलहरूको उचित मर्मत र संरक्षण गरेर कायम राख्नु छ भने अर्कोतर्फ मध्यपहाडी लोकमार्गलाई आधार मानेर त्यहाँबाट गल्कोट नगरपालिकाका हरेक वडा र टोलमा तुरुन्तै कम्तीमा ग्रावेल सडक र क्रमशः कालोपत्रे सडक संजालको विस्तार गर्नु र गल्कोटबासी सबैको आफ्नै घरआँगनबाट यातायातको पहुँच पुग्नु अबको प्राथमिकता र लक्ष्य हो ।
    प्रत्येक गल्कोटबासीले स्वच्छ पिउने पानी आफ्नै घर आँगनमा पाउनु, बिरामी हुँदा वडास्तरमै प्राथमिक स्वास्थ्य सेवा उपलब्ध गराउनु, त्यहाँबाट हुन नसक्ने उपचारका लागि घर आँगनबाटै एम्बुलेन्स चढेर सुविधा सम्पन्न अस्पतालसम्म पुग्ने व्यवस्था मिलाउनु र गल्कोटमै  सुबिधा सम्पन्न अस्पतालबाट विशेषज्ञको सेवा उपलब्ध गराउनु अबको स्थानीय सरकारको लक्ष्य हुनुपर्छ ।
    जन्म दर्ता, मृत्यु दर्ता, नागरिकता प्रमाणपत्र, पासपोर्टको सिफारिस, प्राथमिक स्वास्थ्य सेवाको लागि अब कुनै पनि गल्कोटबासीले दुःख पाउन र टाढा धाउन नपरोस् भन्ने उद्देश्यले काम गर्नु र यथाशक्य चाँडो ती सेवा लिनसक्ने व्यवस्था मिलाउनु स्थानीय सरकारको दायित्व हुनेछ । त्यसैगरी  गल्कोटबासी बालबालिका कोही पनि स्कुल जान र स्तरीय शिक्षा लिनबाट वञ्चित हुन नपरोस् भनेर सबै वडामा सके मात्री भाषामा नभए साबिकका प्राथमिक स्तरका विद्यालय र गल्कोट क्षेत्रमा हरेक विषयमा स्नातकोत्तरसम्मको अध्ययन र अनुसन्धान गर्न गराउन सक्ने क्याम्पसको स्थापना गर्नु अबको स्थानीय सरकारको लक्ष्य हुनुपर्छ ।     
    यी सबै काम सुरू गरी सम्पन्न गर्न प्रशासनिक र प्राविधिकरूपले गल्कोट नगरपालिकाको नेतृत्व लिनु जरुरी हुन्छ । त्यसका लागि आगामी वैशाख ३१ गते हुने निर्वाचनमा सही उमेदवारलाई विजयी गराउनु जरुरी हुन्छ । करिब चार दशकदेखि निष्ठा र इमानको राजनिति तथा समाजसेवामा निरन्तर संलग्न रहेको मैले गल्कोटबासीसामु थप प्रमाण पेस गर्नुपर्छ जस्तो लाग्दैन ।
    राष्ट्रियता, लोकतन्त्र, समाजवाद, व्यक्तिगत स्वतन्त्रता र गरिब किसानका पक्षमा स्वर्गीय बीपी कोइरालाको सिद्धान्तबाट गहिरो रूपमा प्रभावित मैले विद्यार्थी हुँदैदेखि निरंकुश पंचायती व्यवस्थाविरुद्ध र प्रजातन्त्रको पक्षमा आवाज उठाउँदै आएको हुँ । त्यही क्रममा स्थानीय स्तरमा सत्ताको प्रताडना शारीरिक र मानसिक दुवैरूपले सहनु पनि परेको थियो । प्रजातन्त्रको पुनर्स्थापनापश्चात देशको शासन संचालनमा परिवर्तनको आशा गरेका हामी सबैमा सो अनुरूप हुन नसक्दा निराशा उत्पन्न हुनु स्वभाविकै हो ।
    तैपनि प्रतिकूल परिस्थितिमा समेत प्रजातन्त्र र कांग्रेसप्रतिको मेरो निष्ठामा विचलन भएन ।  प्रजातन्त्रमा पनि अनेक व्यवधान, कुशासन, हिंसा र बेथिती झेल्नु पर्ने हाम्रो नियति रह्यो । हिंसा र बेथितिका कारण हजारौं नेपालीले ज्यान गुमाउनुका साथै अंगभंग भएर कष्टकर जीवन बिताउनु पर्ने अवस्था सृजना भयो । यी र यस्ता सबै प्रतिकूल अवस्थामा पनि मैले मेरो निष्ठा र इमानदारीमा आँच आउन दिइन ।
    म समाजसेवा र प्रजातन्त्रको पक्षमा लागिरहेँ । त्यसैगरी देशमा गणतन्त्रको स्थापनाका लागि भएको दोस्रो जनआन्दोलनमा पनि म मेरो ठाउँबाट अविरल र अविचलितरूपमा लागि नै रहेँ । यो सबै कालखण्डमा मैले आजसम्म कुनै पनि लाभको सार्वजनिक पद धारण गरेको छैन र त्यो गर्ने चाहना पनि रहेन ।
    लामो समयसम्म देशमा स्थानीय सरकार नहुँदा जनताले भोग्नु परेका समस्याको सूची लामो छ । कर्मचारीका भरमा र पछिल्लो समय सर्वदलीय समितिका नाममा चलेको स्थानीय निकायका बेथितिका बारेमा मैले व्याख्या गरिराख्नु पर्दैन। 
    लामो समयको अन्तरालमा हुनलागेको यस स्थानीय तहको चुनावमा आफूले विगतदेखी गर्दै आएका समाजसेवा र प्रजातन्त्रको लागि गरेका संघर्षलाई जनप्रतिनिधिका रूपमा निरन्तरता दिने चाहना राख्नुलाई कसैले पनि अन्यथा ठान्नुहुने छैन भन्ने विश्वास छ ।
    त्यही चाहना मैले मेरो पार्टी नेपाली कांग्रेस समक्ष राखेँ र पार्टीले पनि मेरो त्याग, इमानदारी, निष्ठा र लगनशीलतालाई मनन गरेर नै मलाई यही वैशाख ३१ गते हुने गल्कोट नगरपालिकाको चुनावमा मेयर पदको उमेदवारमा मनोनयन गरेको छ ।
    चुनावमा होमिएपछि जितको आशा राख्नु र त्यसको लागि प्रयास गर्नु पनि अन्यथा होइन । त्यही चुनावि प्रक्रियामा होमिएको मलगायत मेरो समूहलाई रुख चिन्हमा मतदान गरी विजयी गराउन सम्पूर्ण गल्कोटबासी दिदी बहिनी, आमाबुबा तथा दाजुभाईलाई हार्दिक अनुरोध गर्दछु।
    चुनाव परिणाम जे आउला तर मेरो निष्ठा, इमानदारी र लगनशीलतामा भने भविष्यमा पनि कुनै कमी हुन दिनेछैन भन्ने वाचा पनि गर्न चाहन्छु । गल्कोटको विकासको लागि मेरो मूल मन्त्र रहेको छ : "कृषि, पर्यटन, जलस्रोत, स्थानीय सीप र पूर्वाधार : गल्कोट नगरपालिकाको समृद्धिका आधार"  ।
    जय नेपाल ।                                
    (मेयर उमेदवार गल्कोट नगरपालिका, गल्कोट, बाग्लुंग) 
    • Facebook Comments
    Item Reviewed: गल्कोट नगरपालिकाको समृद्धिका लागी Rating: 5 Reviewed By: galkotfm
    Scroll to Top